ताजा समाचार

जेठ १ गते २०७६

यौन शिकारबाट रहेको गर्भ फाल्न असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा बालिका

यौन शिकारबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा एक बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका तिन महिनाको गर्भपतन गराउन जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए । प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो ।

रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।

भेरी अस्पतालमा उपचारार्थ बालिकाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको होे ।

अहिले बालिका आइसियुमा छिन् । १३ वर्षीय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।