ताजा समाचार

जेठ १ गते २०७६

पोखरामा प्रदूषण नाप्ने उपकरण राखिने

मुलुकको अधिकांश भागमा बढ्दो शहरीकणसंगै मानविय गतिविधिका कारण विभिन्न प्रकारका प्रदुषणहरु ब्यापक रुपमा फैलिरहेका छन् ,जसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यहि कुरालाई मध्येनजर गरि पोखरामा पनि अव वायु प्रदूषण मापन गर्ने उपकरण राखिने भएको छ।

विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना गण्डकी प्रदेशको वातावरण मन्त्रालयले बनाएको हो ।

पोखरा सहरको वायु प्रदूषण कुन अवस्थामा छ भन्ने थाहा पाउनका लागि मन्त्रालयले आवश्यक उपकरण खरिद गर्नका लागि टेन्डर आह्वान गरेको छ। पछिल्लो समय पोखराको वायु प्रदूषण निकै बिग्रँदै जान थालेकाले पनि त्यसबाट सचेत हुनका लागि प्रदूषण मापन गर्न आवश्यक परेको मन्त्रालयले बताएको छ।

मन्त्रालयका योजना महाशाखा प्रमुख नारायण आचार्यका अनुसार पहिलो चरणमा आवश्यक एक सेट उपकरण खरिदका लागि टेन्डर आह्वान गरिएको छ। उपकरणको अनुमानित खर्च थाहा भएपछि आगामी वर्षदेखि बढी बजेट छुट्याएर पोखराका धेरै क्षेत्रको प्रदूषण मापन गर्न सकिने उनले बताए।

मन्त्रालयले यो वर्ष उपकरण खरिदका लागि १५ लाख रुपैयाँ मात्र छुट्याइएको उनले जानकारी दिए। यो वर्षका लागि एक सेट उपकरणको कति लागत पर्छ भन्ने थाहा पाउन मात्र चाहेको उनले बताए।

अहिले छुट्याएको बजेटले पुगेको खण्डमा पोखराका चारवटा व्यस्त ठाउँमा यी उपकरण राख्न सकिने आचार्यले बताए। सौर्य ऊर्जाबाट चल्ने उपकरण खरिद गरेर प्रदूषणको २४ घण्टे मापन इन्टरनेटमार्फत हेर्न सकिने गरी विस्तार गर्ने योजना रहेको उनले सुनाए।

जडान गरिने उपकरणबाट कार्बन–डाइअक्साइडको पनि मापन हुने भएकाले पोखराको वायुबारे स्पष्ट थाहा हुने उनले बताए। पोखरामा मापनयन्त्र राखेपछि मानव र सवारीको भीड बढेको प्रदेशका अन्य जिल्लाका सहरमा पनि यस्ता उपकरण राख्न सकिने परियारले बताए।

nagariknews.com