मुस्ताङ सदरमुकाम जोमसोममा मंगल साँझ संम्भावित दुर्घटना टरेको छ ।पोखरा देखि मुस्ताङ आएको ग १ ञ १०९९ नम्बर प्लेट भएको एक स्कर्पियोको टायरले जोमसोम गुम्बा नजिक अन्दाजी ३ केजी बराबरको ढुङ्गा उडाउदा सोही स्थानको बिश्राम रेष्टुरेन्टमा बेजोडले बजारियो ।ढुङ्गा बजारिदा रेष्टुरेन्टका सबै जना त्रसित बने ।
जोमसोम गुम्बा नजिक दिनहु दर्जनौ सवारी साधन अन्धाधुन्द पार्किङ गरिएको हुन्छ ।यस्तै पुथाङ बजार सम्म पार्किङ अव्यवस्थित छ ।होटलकी संञ्चालिक मनिता थकालीका अनुसार उक्त पर्यटक सवारी ६० को स्पीडमा टनिङ गरेको दावी गरिन् ।उनले साघुरो बस्तीमा चालकले ओभर स्मार्ट बनेर स्कील देखाउन खोजेको आरोप लगाईन् ।‘बस्ती भित्र बालवालिका खेल्ने गर्छन् ,धन्न ,कोही रहेनछन्,’उनले भनीन् ,‘चालकले स्थानको पहिचान नगरी लापारवाही गरेको हो ।उसलाई ट्राफिक नियम अनुसार कारवाही गरिनु पर्छ ।
ढुङ्गा बजारिएको घर पत्रकार महासंघकोे कार्यालय पनि हो ।चालकलाई किन लापारवाही गरेको भनेर सोध्दा जवाफ दिन ईन्कार गरेको र मजाक उडाएको रेष्टुरेन्ट संञ्चालिका मनिता थकालीले बताईन् ।यसपछि संञ्चालिका थकालीले चालक लापारवाहीका बारेमा प्रहरी र ट्राफिक प्रहरीमा खबर गरेकी थिईन् ।
लापारवाही गर्ने चालक पोखरा महानगर पालिका वडा नं. ८ सृजनाचोकका बस्ने अमृत गजुरेल हुन् ।उनको भनाई अनुसार जीप र चालक दुबै उनी नै भएको बुझिएको छ ।उनले आफुले गल्ती गरेको प्रहरी र ट्राफिक समक्ष बताए ।जिल्ला ट्राफिक कार्यालय जोमसोमले चालकलाई लापारवाही पूर्वक सवारी चलाए वापत ट्राफिक नियम अनुसार कारवाही हुने जनाएको छ ।
स्मरण रहोस घरपझोङ गाउँपालिकाले गत बैशाखा १८ गतेको बैठकमा बैशाखा २१ गते देखि लागु हुँने गरी जोमसोममा सवारी पार्किङको निर्णय गरेको हो । तर स्थानीय तहको उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।
स्थानीय सरकारले आफैले हतासमा निर्णय गराउँदा कार्यान्वयन पक्ष फितलो भएको सरोकारवालाको भनाई छ ।स्थानीय तहले निर्माण गरेको सवारी पार्किङ स्थलमा आवश्यक पूर्वाधार नहुदा पार्किङ समस्या उब्जिएको हो ।





