ताजा समाचार

वैशाख ३१ गते २०७६

श्रीमती हत्या आरोपमा श्रीमान कारागार चलान

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत वैशाख १ गते १९ वर्षीया स्वस्तिकाले आत्महत्या गरेको परिवारले बताए पनि माइतीपक्षले ज्वाइँ बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका थिए ।

नेपालगञ्ज–२० राँझा माइती भएकी स्वस्तिकाको छ महीना अघिमात्र विवाह भएको स्थानीय छिमेकी उषा थापाले बताउनुभयो । स्वस्तिकाको आत्महत्या नभई हत्या भएकाले न्यायका लागि माइतीपक्षले निरन्तर माग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।