ताजा समाचार

वैशाख ३१ गते २०७६

नेता कन्हैया कुमारको बायोपिकमा सलमान आउदै

बलिउडमा यतिबेला बायोपिकको खुबै लहड चलेको छ । त्यसमा पनि यतिबेला डिजिटल प्लेटफर्मको क्रेज ह्वात्तै बढेको छ ।

सोही कारण पनि यतिबेला बलिउडका चर्चित कलाकार , निर्देशक र व्यानरहरु पनि वेभ सिरिज निर्माणमा लागिरहेका छन् । पछिल्लो समय अधिकांशले यस्ता वेभ सिरिजमा बायोपिकलाई छान्ने गरेका छन् । यसैबीच भारतीय नेता कन्हैया कुमारको पनि वेभ सिरिजमाफर्त बायोपिक बन्न लागिरहेको छ ।

भारतीय मिडियाका अनुसार उनको यस बायोपिक सिरिजमा सलमान खानको नाम बाहिरिएको छ । उनी यस सिरिजमा काम गर्न तयार भएको पनि दाबी छ । सिरिजलाई अलि अब्बास जफरले निर्देशन गर्नेछन् जसले यसअघि सुल्तान , भारत र टाईगर जिन्दा है जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।

उनीसंग सलमानको निकै राम्रो सम्बन्ध रहेको कारण पनि सलमानले कन्हैया कुमारको बायोपिकमा काम गर्न राजी भएको बताईन्छ । उक्त बायोपिकका लागि सलमानले तौल घटाउनु पर्नेछ । सलमानले कन्हैया कुमारको बायोपिकमा काम गर्न यस कारण पनि राजी भए की उनी बिद्यार्थी राजनिती र जेपी मुभ्मेन्टबाट केही प्रभावित भएको कारण उनले वेभ सिरिजमा काम गर्न लागेका हुन् ।

उक्त बायोपिकमा कन्हैया कुमारको राजनिती करियरलाई देखाईनेछ । कुनै समय राष्ट्र बिरोधीको आरोप समेत लागेर जेल पुगिसकेका कन्हैया कुमार यस पटक लोकसभाको चुनाव पनि लड्दैछन् । उनी बेगूसराय लोकसभा सीटका लागि भाजपाका नेता गिरिराज सिंह र आरजेडीका तनवीर हसनसंग भिड्न चुनावी मैदानमा उत्रिँदैछन् ।