ताजा समाचार

वैशाख ३१ गते २०७६

परम्परागत मान्यता पछ्याउदै एउटै वडामा १६३ को बालविवाह

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ ।

डोटी जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो ।

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ ।