गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् ।
उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो ।
विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो ।
जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताउनुभयो ।उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् ।





