ताजा समाचार

वैशाख ३० गते २०७६

कास्कीमा कुष्ठरोगीको संख्या कति छ ?

कास्कीमा कुष्ठरोगीको सङ्ख्या क्रमिक रूपमा घट्दै गइरहेको छ ।

स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक बर्षमा १० हजार जनसङ्ख्यामा शून्य दशमलव ४५ जना पीडित थिए भने चालु आर्थिक वर्षमा यो सङ्ख्या प्रति १० हजारमा शून्य दशमलव ४४ मा झरेको हो ।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै जनाईएको छ ।

जिल्लामा २३ कुष्ठरोगी नियमित रूपमा औषधी सेवन गरिरहेका छन् । नयाँ बिरामीको दरप्रति १ लाख जनसङ्ख्यामा ५ दशमलव ४ रहेको छ ।

सरकारले १ लाख जनसङ्ख्यामा एक रोगीमा झार्ने लक्ष्यका साथ कार्य अगाडि बढाएको छ । कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो ।

अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहन्छ । उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन् । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने भएकोले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दे मांशपेशीलाई कमजोर पार्ने स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र घिमिरेले बताए ।

कुष्ठरोगको राष्ट्रिय तथ्याङक अनुसार, ६८ प्रतिशत तराईका जिल्ला सो रोगबाट प्रभावित रहेको पाइएको छ ।