ताजा समाचार

वैशाख २९ गते २०७६

मनमा रहर भएपछि….

सिक्ने र जान्ने रहर भएपछि कुनै पनि परिस्थिति बाधक हुँदैन भन्ने उदाहरणकी एक पात्र हुन्, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ की उर्मिला थापा ।

वडा कार्यालयको आयोजना र वडास्तरीय महिला सञ्जालको व्यवस्थापनमा आयोजित सशक्तिकरण एवं नेतृत्व विकास तालीममा सहभागी थापाले ३ महिने शिशु च्यापेर नै तालीममा सहभागिता जनाइन् ।

‘३ महिने शिशु छोड्न पनि मिलेन, तालीम लिने रहर असाध्यै जाग्यो । अनि बच्चा लिएर नै सहभागी भएकी हुँ ।’

तालीम समापन समारोहमा अनुभव राख्दै थापाले भनिन्, ‘नेतृत्व के हो र कसरी वहन गर्ने भन्ने नबुझी जिम्मेवारी लिएँ । त्यही जिम्मेवारी वहन गर्न नेतृत्व विकास आवश्यक रहेछ । ३ दिनको तालीममले आत्मविश्वास जगाएको छ ।’

सिमेडाँडा आमा समूहकी अध्यक्ष समेत रहेकी थापाले अब जिम्मेवारी बहन गर्ने आत्मविश्वास चुलिएको बताइन् ।

माछापुच्छ्रे गाँउपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले महिला सशक्त हुन विभिन्न तालीम र अवसरको खाँचो औंल्याइन् । शिक्षा विना महिला सशक्तिकरण नहुने भन्दै शिक्षामा जोड दिन उनको आग्रह थियो ।

वडाध्यक्ष जुमबहादुर गुरुङले अब हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीता जरुरी रहेको बताए । नेतृत्व विकास गरेर महिलालाई अघि बढ्न उनले सुझाव दिए ।

महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित तालीममा वडाका आमा समूह, टोलविकास संस्था लगायतका २५ जना महिला सहभागी भएको संजालका अध्यक्ष राधिका ढुङ्गानाले जानकारी दिइन् । तालीमको सहजीकरण पत्रकार जमुना वर्षा शर्माले गरेकी थिइन् ।