मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला पोखरामा नै पहिलो पटक भएको हो ।
कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोग सम्बन्धी समस्या र रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मणिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा. बालगोपाल कर्मचार्यले जानकारी दिए ।
उनका अनुसार कार्यशालामा विशेषगरी टाउको र मस्तिष्कको चोट पटक, मेरुडण्डको चोटपटक, मस्तिष्क पक्षघात, ब्रेन हेमोरेज, छारेरोग, मस्तिष्क र मेरुडण्डको संक्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।
कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा. कर्मचार्यसहित महाराजगंज शिक्षण अस्पताल काठमाडौंका न्यूरोक्रिटीकल विशेषज्ञ डा. जेन्टल सुन्दर श्रेष्ठ र डा. प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौंका डा. मयुश बहादुर मुनान्कामी र डा. सुवास लोहोनी, मणिपाल शिक्षण अस्पतालका डा. निकुञ्ज योगी र डा. हरि पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यशालमा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आईसीयू र न्यूरो आईसीयू मा कार्यरत ८३ जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहभागी थिए ।