ताजा समाचार

वैशाख २९ गते २०७६

कैदीबन्दीले बनाएको मुढाले बजार नपाउनुको कारण ?

कारागारमा रहेका कैदीबन्दीले बनाएका मुढाले बजार नपाएपछि कैदीबन्दी चिन्तित बनेका छन् ।

बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको हो ।

कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताउनुभयो ।

उहाँका अनुसार कारागारबाट रु २५० देखि रु ३७५ सम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन ।पाँच सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका छन । उनका अनुसार उनको मात्रै ३०० भन्दा बढी मुढा बिक्री भएको छैन ।

विभिन्न अपराधमा सजाय भोगिरहेका तनहुँ स्थित कारागारमा कैदीबन्दीमध्ये ७० ले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन् ।

कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिनुभयो ।