ताजा समाचार

वैशाख २८ गते २०७६

‘सालिक’ लिएर आए शीतल

प्रसिद्ध गीतकार शीतल गिरीको सालिक मुक्तक सञ्चयन शनिबार सार्वजनिक भएको छ । मुक्तक मञ्च, पोखराले आयोजना गरेको एक कार्यक्रमका बिच सो कृतिको विमोचन भएको हो ।साहित्यकार सरुभक्तले मुक्तक काव्यको लघुतम विधा भएकाले यसको लेखनकार्य उत्तिकै कठिन साधनाबाट मात्र सम्भव हुने बताए ।

मुक्तक लेखन निकै तीव्र गतिमा हुँदै गएको वर्तमान अवस्थामा यसको स्तरीयता र विधागत सचेतनामा समेत विशेष ध्यान दिनु पर्ने अवस्था आएको जनाउँदै उनले मुक्तककारहरूलाई यसतर्फ गम्भीर हुन आग्रह गरे । मुक्तक लेखन जति सजिलो र छिटो हुने ठानिन्छ, स्तरीय मुक्तक लेखन उत्तिकै कठिन छ भन्दै उनले समसामयिक विषयलाई धारिलो प्रक्षेपण गर्दै प्रस्तुत हुने मुक्तकको गरिमालाई लेखकहरूले कायम राख्नुपर्ने कुरामा जोड दिए ।

सर्जक शीतल गिरीले मुक्तक विधासँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै गीत, गजल र मुक्तकको लेखनका आफ्ना अनुभव र धारणाहरू राखेका थिए । आगामी दिनमा पनि साहित्य रचनामा निरन्तर लागिरहने बताउँदै उनले मुक्तक कृतिका बारेमा सुझाव सल्लाहको पर्खाइमा आफू रहिरहने जनाए । कार्यक्रममा बी.एन् पुस्तक संसारका प्रकाशक सूर्य बीसीले मन्तव्य व्यक्त गर्दै स्रष्टा र प्रकाशकका बिचमा निरन्तर सहकार्य आवश्यक रहेको र गुणस्तरीय कृति प्रकाशनमा ध्यान पुग्नुपर्ने कुरामा जोड दिए । सो क्रममा मुक्तककार गिरीको स्रष्टा परिचय प्रस्तुत गर्दै मन क्षेत्रीले गिरीको कलम फरक स्वाद लिएर आएको बताउँदै उनको सर्जक व्यक्तित्वका बारेमा संक्षिप्तमा जानकारी गराएका थिए ।

सोही अवसरमा मुक्तक मञ्च, पोखराको नियमित १३२ औँ शृङ्खलासमेत सम्पन्न भयो । त्यस क्रममा श्रीराम अधिकारी ‘गोर्जे’, राजीव रिमाल, अनिता दाहाल, रोशन तल्कोटे, गीता तिवारी, ऋद्धिमा रिजाल, सरोज केसी लगायत दुई दर्जन मुक्तककारले मुक्तक वाचन गरेका थिए । मुक्तक मञ्च, पोखराका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन मञ्चका सचिव रामजी प्रसाद आचार्यले गरेका थिए भने स्वागत मन्तव्य भरत पौडेलले राखेका थिए ।