ताजा समाचार

वैशाख २७ गते २०७६

‘महिनावारी बार्नु या बार्न लगाउनु हिंसा हो’

पोखराको माउन्ट अन्नपूर्ण माविमा मर्यादित महिनावारीबारे सचेतना तथा अन्तरक्रिया भएको छ । मदन पुरस्कारबाट सम्मानित तथा सामाजिक अभियन्ता राधा पौडेलले सहजीकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० का करीब २ सय ५० विद्यार्थी र शिक्षक शिक्षिका सहभागी थिए ।

महिनावारीबारे अहिलेसम्म स्कूलमा यसरी खुलेर कसैले बहस, वार्ता वा चर्चा नगरेकाले सुरुमा विद्यार्थीले केही संकोच मानेका थिए । तर सामुदायिक स्वास्थ्यकर्मी समेत रहेकी राधाको सहज र सरल शैलीबाट प्रभावित भएका विद्यार्थीले कार्यक्रममा खुलेर विभिन्न जिज्ञासा राखेका थिए ।

अन्तरक्रियामा रोचक र ज्ञानवद्र्धक प्रश्न सोधेका विद्यार्थीले आआफ्नो घरपरिवारमा महिनावारी भएका बेला आफूले वा महिला सदस्यले बार्दै आएका दिनचर्या बारे खुलेर चर्चा पनि गरेका थिए ।
अधिकांश नेपालीमा महिनावारीको रगत अपवित्र र शरीरमा जमेर बसेको फोहोर भएकाले बाहिर निस्कने हुनाले उक्त बेला महिला अपवित्र हुने हुनाले बार्नुपर्ने चलन रहिआएको भन्ने जनविश्वास छ ।

अशिक्षितको कुरै छाडौं शिक्षित समुदायको पनि सोही मान्यता रहि आएको छ । कसैले पनि अहिलेसम्म सो बारे प्रतिवाद वा प्रश्न गरेका छैनन् । नेपालमा मात्रै नभएर संसारका विभिन्न देशमा यसबारे राधाले अन्तरक्रिया गरेकी छिन् । एउटा स्वभाविक साधारण भै परि आउने कुरो जस्तो सामान्य कुराको रुपमा यसलाई हाम्रो समाजमा अंगिकार गर्दै आइएको छ ।

तर राधाले महिनावारी बार्न लगाउनु वा बार्नु नै महिला हिंसा भएको र बलात्कारको एउटा प्रमुख कारण रहेको बताएकी छिन् । उनले महिनावारी हुनु प्राकृतिक नियम भएकोले रगत अपवित्र नभै शुद्ध र सफा हुन्छ भन्ने बारे वैज्ञानिक तथ्य कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।

उनका अनुसार पाठेघरको ३ तह हुने र विभिन्न कारणले गर्भाधान हुने वातावरण सृजना नहुँदा पाठेघरको भित्री तह च्यातिएर निस्कने रगत नै महिनावारीको रगत हो । सृष्टिलाई अघि बढाउन बच्चा हुर्काउने, ९ महिनासम्म आमाको कोखमा बच्चा बस्ने घर पाठेघरबाट निस्कने रगत कसरी अशुद्द हुन सक्छ ? भन्ने बारे उनले प्रकाश पार्दा विद्यार्थीले महिनावारीको रगत अवपवित्र हैन रहेछ भन्ने ज्ञान पाउन सकेका थिए ।

विद्यार्थीलाई घर गएर आफ्ना परिवारसंग यस बारे चर्चा गर्ने सल्लाह सुझाव उनले दिइन भने महिलाका लागि यो कुनै लाज नभै शानको विषय भएको बताइन् । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका वोर्ड अफ डाइरेक्टर तेज गुरुङले, धन्यावद ज्ञापन प्राधानाध्यापक प्रदीप लम्सालले गरेका थिए ।