सहकारी संस्थाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरी सहकारी मार्फत समाज रुपान्तरणका लागि जिल्ला स्तरीय संघहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा पर्वतका सहकारीकर्मीहरुले जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहयोगमा बहुउद्देश्यीय सहकारी संघ लिमिटेड पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि बहुउद्देश्यीय सहकारीहरुको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
पर्वत जिल्लाका प्रारम्भिक सहकारीहरुले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि जिल्ला स्तरीय संघहरु सक्रिय नभएका कारण सहकारीको योगदान कमजोर जस्तो देखिएको सहभागीहरुको भनाइ छ ।
जिल्लास्थित बहुउद्देश्यीय सहकारीहरुको सक्रियतामा जिल्ला स्तरीय संघहरुको भूमिकालाई प्रभावकारी बनाउने लक्ष्यका साथ आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बहुउद्देश्यीय सहकारीहरुको अवस्था र कानुनी प्रावधानका बारेमा सहजीकरण गरेका थिए ।
एक दुई जनाले चाहेर मात्रै सहकारी अभियान प्रभावकारी रुपमा अगाडि बढ्न सक्दैन, सबैको सक्रिय र सकारात्मक सहयोग भएमा संघ मार्फत सहकारी अभियानलाई प्रभावकारी बनाउन सकिने अध्यक्ष जिसीले बताए ।
अन्तरक्रियाका सहभागीहरुले पर्वत जिल्लामा क्रियाशिल सबै बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई बहुउद्देश्यीय सहकारी संघको सदस्यता लिन आव्हान गर्ने निर्णय गरेका छन् । पर्वत जिल्लाका ७ वटै स्थानीय तहका बहुउद्देश्यीय सहकारीहरुलाई संघमा आवद्ध गराउनका लागि संयोजन गर्ने जिम्मेवारी समेत तोकिएको छ ।




