ताजा समाचार

वैशाख २७ गते २०७६

कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित

कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् । चैत महीनामा धानबालीको रोपाइँ गरेपछि ३ महिनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ ।

कास्की जिल्लामा गतवर्ष ४ सय ५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो । किसानले १ हजार २ सय ११ दशमलव ४ मेट्रिक टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालयका प्राविधिक टंकप्रसाद चौलागाईंले जानकारी दिए ।

पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ । चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् ।

यसवर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उनले बताए । चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८ सय २० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८ सय २१ मेट्रिकटन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ ।