ताजा समाचार

वैशाख २७ गते २०७६

मुस्ताङ, लो-घेकर गापालाई पहिलो प्लास्टिक मूक्तक्षेत्र घोषणा

- सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी छायाँमा परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हालै ५ वटै वडालाई खुला प्लास्टिक मूक्तक्षेत्र घोषणा गरेको छ ।गत माघमा गाउँपालिका स्तरीय अध्ययन अवलोकनका क्रममा भारतको सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा गर्न सफल भएको हो ।

गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गाउँपालिकालाई कसरी सुन्दर,सफा र वातावरणमैत्री राख्न सकिन्छ भन्ने सिक्किमले धेरैकुरा सिकाएको अध्यक्ष बिष्टको भनाई छ ।‘सानो सहर सिक्किम नमूना सहर रहेछ ।प्लास्टिक,शिसाजन्य पदार्थ र चुरोटका ठुटा खुला स्थानमा प्याक्न प्रतिबन्ध रहेछ ।त्यहाँको व्यस्त सहरमा वातावरण सुन्दरताले हामी मोहित भयौं ।’

लास्टिक मूक्तक्षेत्र घोषणा भएपछि गाउँपालिकाले ५ वडाका स्थानीयवासीलाई प्लास्टिक मिसावट नभएको फाईबर झोला बितरण गर्ने तैयारी गरेको अध्यक्ष बिष्टले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाकै समन्वयमा प्रत्येक घरधुरीलाई १ –१ सय थान फाईबर झोला बितरण गरिने उनको भनाई छ ।

गाउँपालिकाले उपल्लो मुस्ताङ आउने पर्यटकलाई समेत जथाभावी रुपमा प्लास्टिकजन्य पदार्थ नमिल्काउन अनुरोध गरेको छ । गाउँपालिकाले पर्यटक फलो हुँने स्थानमा जानकारीका लागि होडिङ बोर्ड टाँस्ने तैयारी गरेको अध्यक्ष बिष्टले खुलाए ।