ताजा समाचार

वैशाख २६ गते २०७६

गायिका सरस्वती लामाविरुद्ध आफ्नौ श्रीमानले दिए प्रहरीमा ठगि उजुरी

गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख रुपैंयाँ ठगीको उजुरी प्रहरीमा परेको छ ।

उनीविरुद्ध उनकै पति धनबहादुर लामाले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् ।

०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

लामा ०७१ सालमा दुवई गएका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, एक लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ ।

पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बैंकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख छ ।

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि उनले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सरस्वतीसहित उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सम्बन्धविच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको छ । सरस्वतीलाई भने सामान्य तारेखमा छाडिएको छ ।