एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरिएको छ ।
फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको हो ।
अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताउछन् ।
दुई वर्षयता केन्द्रमा सिरिन्ज डडाउने इन्टिनेटर साथै सालनाल (प्लासेन्टा) नष्ट गर्ने कन्टेनरको अभाव हुँदा स्वास्थ्य केन्द्र आसपासमा नै वातावरण दुषित बन्दै गएको स्थानीयवासी प्रेम आचार्यले बताउछन् ।
महीनामा एक पटक बस्ने सञ्चालक समितिको बैठकमा स्वास्थ्य केन्द्रका समस्याका विषयमा केन्द्रका चिकित्सक साथै स्वास्थ्यकर्मीले राखेका विषयमा समितिबाट सुनुवाइ भए पनि कार्यान्वयन नभएको बताइएको छ । स्वास्थ्य केन्द्रको समस्या समाधानका विषयमा सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरियाले समेत नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन मिल्ने बताए ।




