ताजा समाचार

वैशाख २४ गते २०७६

रातोपैह्रा-दोबिल्ला १२ मिटरको सडक, महतगौंडाको गल्छी काटिने

पोखरा १७ रातोपैह्राको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयदेखि दोबिल्लसम्मको बाटो स्तरोन्नति र चौडा पारिने भएको छ । संग्रहालयको गेट, पर्खाललाई पछि सारिनेछ भने महतगौंडा, लामतारा र दोबिल्लाका गल्छी र घुम्तीहरुसमेत काट्ने र फराकिलो बनाउने योजना छ ।

सोमबार पोखरा १७ का वडा सदस्य बैकुण्ठ भण्डारीको संयोजनमा भएको भेलाले यसका लागि रातोपैह्रा, महतगौंडा, दोबिल्ला, बाटो स्तरोन्नति तथा बाटो निर्माण उपभोक्ता समिति गठन भएको छ । भेलाले दीपक आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ ।

अध्यक्ष आचार्यले १७, २१ र ३३ का वडाध्यक्षसँग समन्वय गरी काम गर्ने बताए । वडा, महानगर र प्रदेशमा बजेटका लागि पहल गर्दै १२ मिटरको बाटो बनाउने योजना छ ।
बाटोका बीचमा रहेका गल्छीहरु काट्दा निस्कने माटो, गिटी दोबिल्लामा फुर्सेखोला नियन्त्रणका लागि बनाइएको बालमा प्रयोग हुने वडा सदस्य भण्डारीले जानकारी दिए । महतगौंडामा रहेको गल्छीको माथि १ वटा घर छ भने तल केही भूमिहीनका घर छन् । महानगरसँगको समन्वयमा गल्छीको माथि रहेको घर हटाइने भण्डारीले बताए ।