कारण पत्ता लाएर कपाल झर्न रोक्नुस्

उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । यो प्रक्रियालाई सामान्य नै मानिन्छ । यद्यपि, पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु (तालुपना) आफैँमा रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउकोदुखाइ बनिरहेको छ । 

कारण
दिनमा सयवटाजति कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर, योभन्दा बढी कपाल एकैचोटि झरेमा भने त्यसलाई समस्याको रूपमा लिइन्छ । पुरुषमा विविध कारणले कपाल झर्ने गर्छ । 

 वंशानुगत गुण
पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो । यद्यपि, यो सबैमा देखिन्छ भन्ने हुँदैन  । 

 उमेर बढ्दै जाँदा
पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । जसका कारणले कपाल झर्न सुरु गर्छ । सामान्तया २० वर्षभन्दा माथिका पुरुषमा टेस्टोस्टेरोनको मात्रा बढ्दै जाँदा कपाल पनि झर्ने क्रम सुरु हुन्छ । यसको प्रभाव बढी तालुमा देखिन्छ । 
 हर्मोन
पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ । यो कुनै रोगको लक्षण भने होइन । तसर्थ, यसलाई खानपान र कपालको अवस्था हेरी उपचार गरेरै फेरि कपाल उमार्न सकिन्छ । 

 तनाव
दैनिक काम वा अन्य विभिन्न कारणबाट उत्पन्न हुने तनावले कपाल झर्ने गर्दछ । अत्यधिक तनाव भएमा शरीरमा आउने हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरूप कपाल झर्न थाल्छ । 
रोकथाम
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै होला । तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वास्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ । यसर्थ, यी जीवनशैली अपनाउन जरुरी छ । 

धूम्रपान/मद्यपान
धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ । अनि, शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ । त्यस्तै, मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुने हुन्छ । फलस्वरूप कपाल झर्छ । 

 रसायनयुक्त पदार्थ
अधिकांश पुरुष फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर
झर्ने हुन्छ ।
 
 अस्वस्थ खानपान
व्यस्त जीवनशैलीका कारण अधिकांश पुरुषलाई जंकफुड खाने बाध्यता छ । यस्ता खानेकुराले शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ ।