ताजा समाचार

वैशाख २३ गते २०७६

तालिम बालुवामा पानी नबनोस् : मञ्जुदेवी गुरुङ

पोखरा १७ ले अयोजना गरेको कानुनी सचेतना तथा आधारभूत ब्युटिसियन तालिम समापन भएको छ । तालिम समापन समारोहमा पोखरा महानगरकी उपमेययर मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम र आत्मनिर्भर नहँुदासम्म समस्या भइरहने बताइन् ।

उनले महिला सबल र सक्षम हुँदा घर परिवार तथा समाजमा परिर्वतन आउने भएकाले सीप सिकेर व्यावसायिक बन्न आग्रह गरिन् । तालिम लिने तर व्यवहारमा लागु नगर्दा महानगरले गरेको लगानी बालुवामा पानी हालेजस्तै जस्तै हुने उनको भनाइ थियो ।

समाजमा हुने सामान्य विवादलाई स्थानीय तहबाटै मिलाउँदा समाजमा सद्भाव कायम हुने भएकाले न्यायिक समितिको परिकल्पना संविधानले गरेको उनले स्पष्ट पारिन् । उनले न्यायिक समितिले ११ वटा विवाद निरुपण र १३ वटा विवाद मेलमिलाप गराउन पाउने अधिकार पाएको जानकारी दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नागरिकको घरदैलोमा सरकार जानुपर्छ भन्ने मान्यता अनुसार संघीय व्यवस्थाको परिकल्पना गरिएको बताए । उनले घटना दर्ता र नागरिकताका बारेमा जानकारीसमेत दिए ।

पोखरा १७ का तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य वैकुण्ठ भण्डारी, रेडक्रस कास्कीका महामन्त्री उर्मिला खड्का, तालिम प्रशिक्षक छायाँ ढकाल लगायतले बोलेका थिए । तालिममा वडाभित्रका २० जना महिला सहभागी थिए ।