ताजा समाचार

वैशाख २३ गते २०७६

जाजरकोटकी नेपाली चेलीले कुन ईन्डियन फिल्ममार्फत बलिउडमा धुम मच्चाउँदैछिन ?

जाजरकोटकी एक नेपाली चेलीले बलिउडमा धुम मच्चाउने भएकी छिन् । भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी हुन्।

अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा बढी सकिएको छ ।

छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन् ।डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् ।

यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ ।चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेकोे सिजनले बताइन् ।

गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेकी सिजनले जाजरकोटकै छोरी भन्न मन पराउने गरेको बताइन् ।