वैशाख २३ गते २०७६

ताजा समाचार

वैशाख २३ गते २०७६

स्याङ्जा स्थित डुबिण्डाँडाका बासिन्दा अन्तै बसाई सर्नुको कारण ?



स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको छ । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रम जारी रहेको हो ।

सरकारले जमीन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतङ्कले उर्वर जमीन बाँझै राख्न बाध्य छन् ।सिँचाइको राम्रो सुविधा हुनाका साथै त्यहाको माटो उर्वर भएर पनि खेतीपाती गर्नसक्ने अवस्था नरहेको १० नं वडाको सिमलसौराका परसुराम खनालले बताए ।

घर आसपासका जमीनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरको रेखदेख गर्न नसकिएकै कारण आफ्नै मात्रै २० रोपनी जग्गा बाँझै राख्नुपर्ने बाध्यता रहेको खनालको भनाइ थियो । वडा नं १०का झण्डै पाँच सय रोपनी जग्गा बाँदरकै कारण बाँझै रहेको स्थानीयबासीले बताए ।

बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पुर्याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले सङ्घ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले बताए ।