ताजा समाचार

वैशाख २३ गते २०७६

मदिरा व्यवसायी महासंघमा सोनाम शेर्पा विजयी

- महासचिवमा कास्कीका तारानाथ ढुंगाना

नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा सोनाम शेर्पा विजयी भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनबाट शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा उपाध्यक्षको भूमिकामा थिए ।

महासंघको नेतृत्वका लागि २ प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । १ प्यानलको नेतृत्व सोनाम शेर्पाले गरेका थिए भने अर्को प्यानलको नेतृत्व अघिल्लो कार्यकालका महासचिव विष्णु खड्काले गरेका थिए । अध्यक्षका प्रत्यासी खड्कालाई ५९ मत अन्तरले पराजित गर्दै शेर्पा विजयी भएका हुन् । शेर्पाले ३ सय ६७ र प्रत्यासी खड्काले ३ सय ८ मत प्राप्त गरे ।

महासंघमा शेर्पाको कार्यकाल ३ वर्षको हुनेछ । महासंघको भवन निर्माण, व्यवसायीबीच एकता, बाँकी जिल्लामा शाखा विस्तार, सरकार–व्यवसायीका साथै व्यवसायी–उद्योगीबीचको समस्या समाधान, व्यवसायीका समस्या समाधानका साथै नक्कली मदिरा अध्यक्ष शेर्पाका चुनौती हुन् ।
उनले यी सबै समस्या समाधानका लागि खरोरुपमा उत्रने, महासंघको भवन निर्माण समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए । उनले विशेषगरी व्यवसायीका समस्या समाधान आफ्नो प्रमुख प्राथमिकतामा पर्ने स्पष्ट पारे ।

यसैगरी महासंघको २ उपाध्यक्ष पदमा ३ जनाबीच प्रतिस्पर्धा गरेका थिए । जसमध्ये मृगेन्द्र गोविन्द श्रेष्ठ ३ सय ६१ र विष्णुकुमार श्रेष्ठ ३ सय ४१ मतका साथ निर्वाचित भए । मृगेन्द्र खड्का प्यानलका हुन् भने विष्णु शेर्पा प्यानलका हुन् । खड्का प्यानलबाटै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मुकुन्द महर्जन भने ३ सय २४ मत प्राप्त गरी पराजित भए ।

यस्तै, महासंघको महासचिव पदमा तारानाथ ढुंगाना निर्वाचित भएका छन् । उनी खड्का प्यानलबाट निर्वाचित भएका हुन् । शेर्पा प्यानलबाट सोही पदमा उम्मेदवारी दिएका राजन केसीलाई पराजित गर्दै कास्कीका ढुंगाना विजयी भएका हुन् । ढुंगानाले ३ सय ७७ र केसीले २ सय ९४ मत प्राप्त गरे । ढुंगाना कास्की समितिको निवर्तमान अध्यक्ष समेत हुन् ।

महासचिवमा निर्वाचित ढुंगानाले व्यवसायी एकता, संगठन विस्तार, व्यवसायीका समस्या समाधान, महासंघलाई चुस्त दुरुस्त र क्रियाशील बनाउने, अग्रजलाई सम्मान गर्ने आफ्नो योजना रहेको बताए । उनले महासंघका पूर्वअध्यक्ष तथा अग्रजहरुको राय सल्लाह बमोजिम अघि बढ्ने प्रतिवद्धता जनाउँदै व्यवसायीका समस्यामा खरोरुपमा उत्रने स्पष्ट पारे ।

यसैगरी महासंघको कोषाध्यक्षमा रुपक अर्याल ३ सय ३१ मतका साथ विजयी भए । उनका प्रत्यासी उम्मेदवार भगवती न्यौपानेले २ सय ७७ मत प्राप्त गरिन् । अर्याल शेर्पा प्यानलबाट उम्मेदवार बनेका थिए ।

महासंघको सचिवमा शेर्पा प्यानलकै रमेश आचार्य ३ सय ५५ मतका साथ निर्वाचित भए । उनका प्रत्यासी खड्का प्यानलका यादवसिंह कार्कीले २ सय ८२ मत प्राप्त गरे ।

यसैगरी केन्द्रीय सदस्यमा सीता भट्टराई ४ सय ७८, चक्रबहादुर श्रेष्ठ ४ सय ३०, लीलाधर लुइँटेल ३ सय ९१, माधवराम निरौला ३ सय ५८, भीष्मराज अर्याल ३ सय ६२ र अर्जुन सिग्देल ३ सय ५१ म्त प्राप्त गर्दै निर्वाचित भए । ६ जना सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । जसअन्तर्गत हरिलाल न्यौपानेले ३ सय ४६ र पदमराज घिमिरेले २ सय ७० मत प्राप्त गरे पनि पराजित भए ।
यस्तै प्रदेश अन्तर्गत गण्डकी प्रदेश अध्यक्षमा डासीराम सापकोटा निर्वाचित भएका छन् ।