बाध्यताले चोरी,चोरी सफल नभएपछि पसल मालिकलाई माफीपत्र

हामीले विभिन्न ब्यवसायीक पसल तथा ब्यक्तिलाई विभिन्न तरिकाले चोरले लुटेको समाचारहरु सुन्दै आएका छौ तर रौतहटका चन्द्रपुर ४ मा भने चोरले पसल फुटाउन नसकेपछि पसलको मालिकलाई पत्र मार्फत माफी नै मागेको छ ।

एक व्यापारीको पसलको सटर शुक्रबार राति फुटाउन नसकेपछि उक्त चोरले सादा कागजमा मजबुरी (बाध्यता)ले चोर्न आएको पत्र टाँसेर माफी मागेका छन् ।

पत्रको साथमा हथोडा, छेनी पनि छाडेका थिए । ब्यापारी कबिन्द्रनाथ गोपालीको होम ग्यालरीमा चोरी गर्ने उद्देश्यले चोरले सटर फुटाउने प्रयास गरेका थिए ।

होम ग्यालरीमा मोबाइल, फर्निचर र विभिन्न इलेक्ट्रोनिक सामानहरू पाइन्छन् । गोपालीले बिहान पसलको अगाडिको बल्ब फुटाइएको अवस्थामा फेला पारे ।

चोर्नुअघि ग्यालरी बाहिर रहेको बल्ब फुटाउन चोरले निकै प्रयास गरेको सिसि क्यामेराको फुटेजमा देखिएको छ । त्यस क्रममा चोर कहिले उठ्ने, कहिले शौचादी गर्न जाने र कहिले कपडा फुकाल्ने गरेको दृश्य सिसिक्यामेरामा कैद भएको छ ।

चोरले यसरी पत्र लेखेको पहिलो पटक थाहा पाएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताए । प्रहरीले सिसि फुटेज मार्फत चोरको खोजी गरिरहेको जनायो ।