ताजा समाचार

वैशाख २२ गते २०७६

बाख्राको मासु खाँदा १५ बिरामी

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी परेका छन् । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले शनिबार बाख्राको मासु खाएका हुन् ।

सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलका अनुसार हिजो स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका छन् ।

बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताएका छन् । बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको बताएका छन् ।

बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताएका छन् ।