ताजा समाचार

वैशाख २१ गते २०७६

१४३ यात्रु बोकेको जहाज नदीमा खस्यो

१४३ जना यात्रु बोकेको बोइङ जहाज अमेरिकाको फ्लोरिडा रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको छ ।

चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राति अवतरण क्रममा हावाहुण्डरी आएपछि हुत्तिएर पानीमा अवतरण हुन पुगेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार जहाजमा १३६ जना यात्रु र ७ जना कर्मचारी थिए । जहाजमा धेरै नै क्षति भएको छ भने कम्तीमा २० यात्रु सामान्य घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा उपचारका निम्ति पठाइएको छ ।

मायामी एअर इन्टरनेशनलको सञ्चालनमा रहेको उक्त जहाज क्युबाको गुवान्टान्मो बेबाट उडेको थियो। यसको गन्तव्य फ्लोरिडाको ज्याकसोनभिला सहरस्थित आर्मी क्याम्प थियो ।

ठूलो हावाहुन्डरी आइरहेका बेला अवतरण भएपछि जहाज चिप्लिएर क्याम्प नजिकैको सेन्ट जोन्स नदीमा पुगेको यात्रुहरूले बताएका छन् । यात्रुका अनुसार जहाज भुइँमा नराम्ररी बजारिएर उफ्रेको थियो । पाइलटले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको जहाज दुई–तीन पटक उफ्रेको यात्रुहरूको भनाइ छ ।

‘हामी पानीमा पुगिसकेका रहेछौं । तर हामी नदीमा थियौं वा समुद्रमा भन्ने यकिन भएन,’ एक यात्रुले भनेकी छन्, ‘पानीमा जहाजबाट तेल चुहिएर आएको गन्ध भने आइरहेको थियो ।’