ताजा समाचार

वैशाख २१ गते २०७६

काफल बेचेर कापी कलम

पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको हो ।

यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानीलगायत बजार क्षेत्रमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास रु १० देखि रु २० सम्ममा बिक्री गरिरहेका भेटिन्छन् । यहाँका बालबालिका काफल हुने याममा वर्र्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आफ्नो स्कुलको पढाइखर्च जुटाउने गरेको गोगनपानीकी पवित्रा खत्री दाहालले बताइन् ।

उनले भनिन्, “केटाकेटीको स्कुल बिहान लाग्ने गरेकाले उनीहरू बिहान स्कुल जान्छन् र दिउँसोे जङ्गलमा गएर काफल टिपी ल्याउँछन् र साँझसम्म बेचेर स्कुलको खर्च तथा घर खर्च जुटाउन थालेका छन् ।” यहाँका राजमार्गमा दिनहुँ सयांै गाडी ओहरदोहर गर्ने भएको र त्यत्तिकै मात्रामा यात्रु पनि आवतजावत गर्ने भएकाले बालबालिकाले सङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानीयवासी बताउँछन् ।
यहाँका राजमार्ग क्षेत्रमा काफल बेच्ने बिक्रेताले राम्रो आम्दानी गर्न थालेको जोरायल गाउँपालिका–२स्थित रूपसकाँडाका भरत कुँवरले बताए । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल व्यवसायमा लागेका अर्का स्थानीयबासी ज्ञानु मल्लले बताए ।

काफल पाक्ने समयमा डोटीमा ठूलो मात्रामा असिना परेकाले जङ्गलमा योवर्ष खासै काफल नभएको स्थानीयवासी बताउँछन् । असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति प¥याएका कारण काफल खोज्न अलि टाढाको जङ्गल जानुपर्ने र काफल टिप्न दिनभरी नै लाग्ने गरेको सहजपुरमा काफल बेच्दै आउनुभएकी मीना साप्कोटाले बताइन् । यहाँका स्कुले केटाकेटीले शुक्रबार र शनिबार दिनभरीमा काफल टिपेर बिक्री गर्ने गरेका छन् ।