ताजा समाचार

वैशाख २१ गते २०७६

ढोरपाटनमा ६ नाउर र ३ झारलको सिकार

ढोरपाटन सिकार आरक्षमा चालू आव ०७५/७६ को फागुन–वैशाख सिजनमा ६ नाउर र ३ झारलको सिकार भएको छ । फागुन अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म उक्त संख्यामा सिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिजनका लागि १० नाउर र ४ झारलको कोटा निर्धारण गरे पनि त्यसअनुसार सिकार नभएको आरक्षका सूचना अधिकारी विष्णु रोकायाले बताए ।

दोस्रो सिजनका लागि हिमालयन सफारिज र नेपाल वाइल्ड लाइफ आर्ट फिट्समार्फत आएका दुई अमेरिकी नागरिकले एउटै नाउर सिकार गर्न सकेनन् । त्यस्तै लाइफ आर्ट फिट्समार्फत अर्का एक अमेरिकी झारल सिकार गर्न आएका थिए । उनी पनि असफल रहे ।

आरक्षका फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लक’ मा सिकार खेलाउने गरिएको छ । सिकार कम्पनीहरू नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज, ट्र्याक एन्ड टेल्स प्रालि, नेपाल वाइल्ड लाइफ एड्भेन्चर र नेपाल वाइल्ड लाइफ आर्ट फिट्समार्फत सिकारी ढोरपाटन पुगेका थिए ।

खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचाउने गरेका छन् । अमेरिका, रूस, स्पेन, हंगेरी, साउथ अमेरिका, नर्वेजस्ता देशबाट पेसेबर सिकारी बर्सेनि ढोरपाटन जान्छन् । दोस्रो सिजनमा नाउर सिकारको अधिकतम मूल्य १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार कायम भएको थियो । यसबाट १ करोड ८९ लाख १० हजार राजस्व संकलन भएको छ ।

यसअघि असोज–मंसिर सिजनमा १ करोड ५० हजार राजस्व संकलन भएको थियो । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।