ताजा समाचार

वैशाख २० गते २०७६

जग खेन्दा भेटियो १९ तोला सुन

साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा भवन जग खन्दा जमीनमुनी ठूलो परिणाममा गहना फेला परेका छन् । त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् ।

१९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ ।

सुन र चाँदी भेटाएका मजदूरबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको साँफेबगर–२ का वडाध्यक्ष कालुसिंह कुँवरले बताए । उनले भने, “करीब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो, तर मजदूरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो, अहिले प्रहरीको निगरानीमा भवनको जग खन्ने काम भइरहेको छ ।”

सो ठाउँबाट पुराना मूर्तिसमेत फेला परेका छन् । “पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदी भेटिएको हो” वडाध्यक्ष कुँवरले भने । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।