ताजा समाचार

वैशाख २० गते २०७६

प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा !

प्रदेश नम्बर–३ को स्थायी राजधानी र प्रदेशको नामको टुंगो लागेको बताइएको छ ।

डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई नेकपाका दुवै अध्यक्ष सकारात्मक भएपछि प्रदेशको स्थायी राजधानी तोक्न लगभग टुङगो लागेको हो ।

हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै यसबारे सकारात्मक थिए ।

स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बाग्मती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको बुझिएको छ । सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनुभएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु भएदेखि नै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदै आउनुभएको छ । अब वर्षे अधिवेशनमा पनि राजधानीको विषयले प्रवेश पाउने निश्चित छ ।