ताजा समाचार

वैशाख २० गते २०७६

सामान्य परिवारमा जन्मेर महारानी बनेकी सुथिडासंग थाइ महाराजाको प्रेमकथा यस्तो थियो

उनको जन्म सामान्य परिवारमा भयो। सरकारी विद्यालय पढिन्। कलेजमा सञ्चार कला अध्ययन गरिन्।

सन् १९७८ मा जन्मिएकी सुथिडा टिड्जेको करिअर थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजबाट सुरु भयो। त्यहाँ उनले आफ्नो जीवनको उन्नत समय बिताइन्। तर धेरै लामो समय होइन। त्यो समय जति छोटो रह्यो त्यति नै उनको जीवनका लागि अर्थपूर्ण पनि। अहिले उनलाई थाइल्यान्डकी महारानी बन्ने अवसर थाइ एयरवेजकै उडानले जुराइदिएको हो।

आकासमा उड्ने पेशामा थरिथरिका मान्छेसँग भेट हुन्छ। काठमाडौंका लागि समेत दैनिक उडान गर्ने सरकार स्वामित्वको थाइ एयरवेज राजपरिवार सदस्यको औपचारिक, अनौपचारिक यात्राको पहिलो रोजाइमा छ।

हाल ४० वर्ष पुगेकी उनी त्यतिबेला अझ यौवना देखिन्थिन्। मुस्कानसहित सेवा प्रदान गर्नु उनको दैनिकी थियो। एक दिन उनले राजपरिवार सवार उडानमा सेवा गर्नुपर्ने सूचना पाइन्। राजपरिवार सवार हुने भनेपछि थाइ एयरवेजले उडानको तयारी विशेष बनायो। जसमा उनी फ्लाइट एटेन्डेन्टको रुपमा छानिएकी थिइन्। आकाशमाथि उडिरहँदा एयर होस्टेस सुथिडालाई त्यो दिन थाइल्यान्ड युवराज (वर्तमान महाराज) बाजिरालंकर्नले भेटे। आँखा लगाए।

युवराजसँगको त्यो उडानको केही समयपछि उनले फ्लाइट एटेन्डेन्ट पेशा छोडिन्।

सन् २०१३ देखि उनको करिअर गन्तव्य थाइ राजदरबार बन्यो। जहाँ उनले फरक भूमिका पाइन्। हालका राजा अर्थात तत्कालीन युवराज बाजिरालंकर्नको सुरक्षा टोलीमा उनी सहभागी भइन्। युवराजको सुरक्षा रेखदेख उनको काँधमा रह्यो। बडीगार्डको भूमिकामा भए पनि उनी रजपरिवारसँग विशेष निकट थिइन्।

भनिन्छ, थाइ युवराजले उनलाई धेरै मन पराएर फ्लाइट एटेन्डेन्टको जागिर छोडाए। आफूसँग नजिक राख्न दरबार भित्र्याए।

आकाशबाट एयर होस्टेस र तत्कालीन युवराजबीच सुरु भएको सम्बन्ध विकसित हुँदै केही दिन अघि औपचारिक रुपमा महारानीमा परिणत भएको छ। बुधबार थाइ राजदरबारले औपचारिक रुपमा सुथिडा महाराज महा बाजिरालंकर्नको महारानी भएको जानकारी गराएको छ। आफ्नै अंगरक्षकलाई विवाह गरेको भन्दै यसको विश्वभरि चर्चा भइरहेको छ।

सन् २०१४ मा बाजिरालंकर्नको तेस्रो सम्बन्धविच्छेदपछि सुथिड खुलेआम उनी निकट रहँदै आएकी थिइन्। त्यही बेलादेखि उनीहरु सँगै बस्न थालेका हुन्। सार्वजनिकस्थलमा समेत सँगै देखिँदै आएका छन्। सन् २०१६ मा जनरलमा बढुवा भएकी उनले त्यसपछि अंगरक्षकको भूमिका पाइन्। यी पदहरु केवल देखाउने विषय थिए। महारानी बन्नका लागि अपनाइनुपर्ने प्रक्रिया थिए।

सुथिडा र ६६ वर्षीय बाजिरालंकर्नकी चौथो श्रीमती हुन्। बाजिरालंकर्नले योभन्दा अघि तीन विवाह गरिसकेका छन्। ती कुनै सफल भएनन्। तीनै पत्नीसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ। तीन पत्नीबाट कूल ७ छोराछोरी छन्।

सन् २०१६ मा पिता भूमिबोल अब्दुल्यको निधनपश्चात बाजिरालंकर्न राजा घोषित भए। तर अझै उनलाई औपचारिक रुपमा राजगद्दी सुम्पिएको छैन। औपचारिक रुपमा राजा बनाउने कार्य यही मे महिनाको ४ देखि ६ सम्म हुँदैछ। गद्दीमा बस्नु अगाडि सुथिडालाई बाजिरालंकर्नले विवाह गरेर महारानी बनाएका हुन्।

थाई राजतन्त्रको इतिहासमा सुथिडा सामान्य परिवारबाट देशको महारानी बन्ने दोस्रो महिला बनेकी छिन्। यस अगाडि राजाराम पाँचौले सामान्य नागरिक इन्द्रासाकसाजीलाई विवाह गरी महारानी बनाएका थिए।