ताजा समाचार

वैशाख १९ गते २०७६

साभ नेपालकाे विद्यार्थी मोटिभेसन सेमिनार

नेपालको शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल नामक संस्थाको आयोजनामा पोखराका विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लक्षित गरी मोटिभेसन सेमिनार भएको छ । पोखराका विभिन्न विद्यालयका पाँच सय विद्यार्थीहरु सहभागी भएको सो कार्यक्रमका प्रमुख मोटिभेटरका रुपमा डा. ताराजी थिए ।

के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? कस्तो बानी व्यहोरा अपनाउने ?लगायतका महत्वपूर्ण विषयमा अत्यन्तै रोचक प्रस्तुतिका साथमा सञ्चालन गरिएको सो सेमिनारमा तुलसी प्रवास र उपेन्द्र पौडेलको पनि प्रस्ुतति रहेको थियो । शैक्षिक सत्रको सुरुमा आयोजना गरिएको यस्तो सेमिनारले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकहरुले प्रतिक्रिया दिए ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई पनि यस्ता खाले सेमिनारमा सहभागी गराएर विद्यालय रुपान्तरणको अभियान सुरु गरेको साभ नेपालका अध्यक्ष तुलसी प्रवासले बताए ।

शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पु¥याउने उद्देश्यले साभ नेपालले काम गरिरहेको छ । साथै, साभ नेपालले यस्ता कार्यक्रम गरी वचत भएको रकमबाट विद्यालय शिक्षाबाट बञ्चित बालबालिकाका लागि सहयोग गर्दै आएको छ ।