ताजा समाचार

वैशाख १९ गते २०७६

मौलाना मसुद अजहर अन्तराष्ट्रिय आतंककारी घोषित

पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषित भएका छन् । उनलाई संयुक्त राष्ट्रसंघले उक्त घोषणा गरेको हो ।

यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनिमाथी आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ ।

पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको छ । यो समितिले कुनै पनि निर्णय गर्दा सर्वसम्मतीबाट गर्छ तर, चीनको विरोध हुँदाहुँदै आतंककारी घोषणा गरिएको पाकिस्तानको भनाइ छ ।

यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।

भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । भारतले धेरै वर्षदेखि मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गराउन पहल गर्दै आएको थियो । अहिले संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् ।