ताजा समाचार

वैशाख १८ गते २०७६

मजदुरले पर्वतै उठाउन सक्छन् : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मजदुरले समाज परिवर्तनमा सघाइरहेको बताउका छन् । हनुमानलाई झैं श्रमिक मजदुरलाई पनि आफ्नो शक्ति थाहा नहुने उल्लेख गर्दै उनले भने, ‘अब श्रमिक मजदुरले आफ्नो शक्ति बुभ्mनुपर्छ ।’

मजदुरको शक्तिलाई व्याख्या गर्न उनले रामायणमा उल्लिखित राम र हनुमानको कथा हाले । सीतालाई रावणले हरण गरेपछि रावणसँग लडाइ गर्न समुन्द्रको बाटो कसरी जाने भनेर कुरा गर्दा रामले हनुमानलाई पहाड नै बोक्न सक्ने शक्ति रहेको बताइदिएको प्रसँग मुख्यमन्त्री गुरुङले उल्लेख गरे ।

उनले मुख्यमन्त्री, मन्त्री र सिडिओलाई नेता ठान्ने परम्परा रोकिनुपर्ने भन्दै समाजमा परिवर्तन गरिरहेका मजदुरहरु नै वास्तविक नेता रहेको बताए । ‘हामी भनेको पदाधिकारीमात्र हौं, सरकारी पद धारण गर्ने, तर वास्तविक अर्थमा नेता त उनीहरु हुन्, जसले समाज परिवर्तनमा सघाइरहेका छन् ।’

श्रमिक मजदुर नै सबैभन्दा शक्तिशाली रहने भन्दै उनले त्यसका लागि संगठन आवश्यक रहने बताए । ‘तपाईहरु कुनै न कुनै रुपमा संगठित हुनुस्,’ मुख्यमन्त्री गुरुङले भने, ‘मजदुरको शक्ति संगठनमा देखिन्छ ।’

नारी जागरण अभियान पोखराले आयोजना गरेको अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमजीवी सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले गण्डकी सरकार मजदुरमैत्री नीति, कानुन र बजेट बनाउने भन्दै यसका लागि सल्लाह सुझाव दिनसमेत आह्वान गरेका छन् ।

मुलुकमा राजनीतिक र संरचनागत परिवर्तन भए पनि सोचमा परिवर्तन नआएको उनले बताए । मजदुरलाई कसैले सोध्ने खोज्ने नगरेको भन्दै यो काम सरकारले गर्नुपर्ने उनको धारणा छ । धनिमानी मानिस पैसाको भरमा नेता भएको उनको भनाइ छ । सरकारको पदमा रहँदा कानुन बनाउने र स्रोत साधनको परिचालन गर्न पाउने हुँदा नेतृत्व गर्ने अवसर धेरै हुने उनले बताए ।

कार्यक्रममा मजदुरी गरेर विज्ञान विषय अध्ययन गरिरहेकी मिना घर्तीमगर, डुंगा चालक अर्जुन मगर, रामघाटमा बालुवा चाल्ने महिला पूर्णकला बस्नेत, निर्माण व्यवसायी सर्मिला रोका मगर र पोखराका पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई मुख्यमन्त्री गुरुङले दोसल्ला ओढाउनुका साथै नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री गुरुङले फुर्सदको समयमा फोहोरमा प्लास्टिक टिपेर अध्ययन गरिरहेकी मीना घर्तीमगरको अध्ययन शुल्क प्रदेश सरकारले तिरिदिने घोषणा गरे ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा वास्तविक मजदुरलाई खोजेर सम्मान गरिएको नारी जागरण अभियान पोखराका संयोजक अञ्जु क्षेत्रीले बताइन् । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नागरिक समाज पोखराका अध्यक्ष राम पौडेल, सामाजिक अभियन्ता शशि तुलाचन, ट्रेड युनियन महासंघ जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्री, सम्मानितको तर्फबाट मीना घर्तीमगरले बोलेका थिए ।