ताजा समाचार

वैशाख १८ गते २०७६

समानन्तर समिति चलाइरहेका गोविन्दराज जोशी समूहको पार्टी कार्यालय तोडफोड

पछिल्लो समय पार्टीभित्र समानन्तर समिति बनाएर क्रियाशिल कांग्रेस नेता तथा पूर्व सहायकमन्त्री गोविन्दराज जोशी समूहको पार्टी कार्यालयमा तोडफोड गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको तनहुँस्थित कांग्रेस पार्टी कार्यालय तोडफोड गरिएको हो ।

मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्‍यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास–२ मालपोत लाइनमा रहेको जोशी समूहले स्थापना गरेको कार्यालयमा तोडफोड भएको हो । 

र्‍यालीमा सहभागीले बन्द अवस्थामा रहेको कार्यालयको फ्लेक्स बोर्ड तोडफोड गर्नु साथै सटरमा लेखिएको अक्षरमा रातो रङ्ग पोतेर मेटिदिएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका कांग्रेस कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै नेता गोविन्दराज जोशी पक्षधरले विशेष अधिवेशनको घोषणा गरेर समानान्तर समिति गठन गरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

समानान्तर समितिको कार्यालय तोडफोड गर्ने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ताको सहभागिता रहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।