नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकियो

कास्कीको मादी गाउँपालिका २ सेतीखोलामा निर्माणाधीन नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकिएको छ ।

अहिले विद्युत् गृह, बाँध, डिसेन्डिङ वेसिनमा धमाधम काम भइरहेको छ  भने १ हजार २ सय ४५ मिटर लामो नहर तयार भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष खुमबहादूर केसीले आगामी दसैंभित्र विद्युत् उत्पादन हुने लक्ष्यका साथ काम भइरहेको बताए ।

१२ मेगावाट क्षमताको आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा छ ।
हिमालयन हाइड्रो पावर लिमिटेडअन्तर्गत दूरसञ्चार सेवा प्रदायक एनसेलका कर्मचारी (एलआरसी समूह) ४ सय ७८ र विभिन्न क्षेत्रका एक सय बढी गरी करिब ६ सय जनाको सेयरमा २ अर्ब २२ करोड रुपैयाँको लगानीमा आयोजना बन्दै छ ।

जनता बैंकको संयोजकत्वमा विभिन्न ५ बैंकबाट ७० प्रतिशत ऋण र अरू रकम नगद लगानी गरिएको छ ।

आयोजनाले २०६७ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।
यतिबेला डिसेन्डिङ वेसिन, पेनस्टक पाइप जडान, विद्युत् गृहमा काम भइरहेको छ । नहरलाई बन्द गरिएको छ ।

६३ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने प्राविधिक इन्चार्ज अमित पन्तले बताए । उत्पादित बिजुली साढे ४ किलोमिटर तल रहेको अपरमादी जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याइनेछ । यसको पनि काम भइरहेको छ ।

मादीखोलामा पक्की पुल नहुँदा आयोजनालाई निर्माण सामग्री ढुवानीमा समस्या भएको छ । आयोजनाका साइट इन्चार्ज तारा पौडेलका अनुसार झोलुंगेपुलबाट सामान ओसार्नुपर्ने बाध्यता छ ।

sourc by kantipurdaily