ताजा समाचार

वैशाख १८ गते २०७६

विद्यालय बन्द गरि शिक्षक–विद्यार्थी लेकमा यार्सागुम्वा टिप्न

उच्च हिमाली क्षेत्रतिर यार्सागुम्वा सिजन सुरु भएसंगै त्यस स्थानका विद्यालयहरु पनि करिव बन्द भएका छन् ।

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

गतवर्ष ५ लाख ५३ हजार रुपैयाँबराबरको यार्सागुम्बा संकलन गर्दा परिवारमा निकै खुसी छाएको थियो। मेरी छोरी कल्पना होइन, लक्ष्मी हो भनेर आमाबुबाले भन्नुभएको थियो । यो वर्ष अझै बढी कमाउने सोच छ।’उनले भनिन् । दुई सातादेखि उनी चाला वनमा यार्सागुम्बा संकलन गरिरहेकी छिन्।

विद्यालयमा कोही भर्ना भएका छैनन्। सबैजना लेकतिर यार्सागुम्बा संकलन गर्न बाबुआमा र आफन्तसँग गएकाले आफू पनि फुपाजूसँग दुई वर्षदेखि निरन्तर यार्सागुम्बा संकलन गर्न लेकतिर आउने गरेको धुली निमाविमा अध्ययरत कक्षा–४ पास गरेकी बबिता बोहराले बताइन्।

साइपाल गाउँपालिकाका धनसिंगे बोहराले घरमा रोजगारी गर्ने कोही नभएका र छोराबुहारीलाई घरधन्दा गर्दै बित्ने भएकाले नातिलाई यार्सागुम्बा संकलनमा पठाएको बताए। नातिले वर्षमा पाँचदेखि सात लाखसम्म कमाइ गर्ने भएकाले पढाइ छुटाएर भए पनि यार्सागुम्बा संकलनमा पठाएको उनले सुनाए।

बाजुराको साइपाल गाउँपालिकाले गाउँपालिकाभित्रका दुईओटा मावि, एउटा निमावि र चारओटा प्राविका प्रधानाध्यापकलाई बैठकमा बोलाएर कुनै पनि विद्यालयले विद्यालय बन्द गरेर यार्सागुम्बा संकलन गर्न आफू पनि नजाने र विद्यार्थीलाई पनि नपठाउने भन्ने निर्णय गरेको भए पनि कार्यान्वयन नभएकोमा दुःख लागेको सो गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए।

साइपाल गाउँपालिकाका विद्यालय मात्र होइन । सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली तलकोट, मस्टा गाउँपालिका, बुगल नगरपालिका र जयपृथ्वी नगरपालिकाभित्रका अधिकांश विद्यालय पनि अहिले बन्द छन्।