आदिकवि भानुभक्तको माटो र ढुंगाले बनेको २ वर्षभन्दा पुरानो घरको अहिले भग्नावशेषमात्र बाँकी छ । घरभित्रै काँडा र साना झार उम्रेका छन् ।
नेपाली भाषाका धरोहर आचार्यको जन्मघरको यो दुर्दशा देख्ने जो कोहीको पनि मन कटक्कै खान्छ । तनहुँको भानु नगरपालिका ४ शिखरकटेरीस्थित भानुगृह करिब बेवारिसे अवस्थामा छ ।
केही दिनअघि साहित्यकार डा. नवराज लम्सालले आचार्यको खण्डहर घर अगाडि बसेको तस्बिर फेसबुकमा पोस्ट गर्दै भानुगृहको संरक्षण हुन नसक्नु दुखद भएको लेखेका थिए ।
पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनर्निर्माणका लागि शिलान्याससमेत गरेको थियो । विसं २०७३ साल चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गरेका थिए ।
भानृगृह करिब ६८ लाख रुपैयाँको लागतमा निर्माण हुने भनिए पनि निर्माण सुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए । उनले भने, ‘पुनर्निर्माणको शिलान्यास त भयो तर, काम अगाडि बढेन ।’
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर १ लाखमा पुनर्निर्माण गरेका थिए । जंगलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो ।
गुरुयोजना अनुसार भानुभक्तको घर २ तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारा लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ ।




