बोर्डिङ छाडेर सरकारीमा लर्काे, सुरु भयो बस सेवा

करिब १६ सय विद्यार्थी रहेको सरस्वती माविमा यसपालि २ सय विद्यार्थी थपिए । नयाँ विद्यार्थी सबैजसो निजी स्कुलबाट आएका हुन् ।

सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाइ हुने यस विद्यालयमा अधिकांश कक्षामा २ वटा र कक्षा ८, ९ र १० मा ३ वटा सेक्सन छन् । विद्यार्थी धेरै मात्र भएका छैनन्, टाढा, टाढाबाट आउने भएपछि स्कुलले बस सेवा सुरु गरेको छ ।

गोरखा ८ आहालेमा रहेको यो विद्यालयले दशकयता जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । प्रधानाध्यापक पुरुषोत्तम भट्टराई अभिभावकको उच्च माग अनुसार नै बस सञ्चालनमा ल्याइएको बताउँछन् । २ वटा बस किन्नका लागि शिक्षक, अभिभावक तथा समुदायले संयुक्त लगानी गरेका छन् । ‘तत्कालका लागि २ बस किनेका छांै, अहिलेसम्म ७० जनाले २५ हजारका दरले सेयर हाल्नुभएको छ’, बस खरिद समिति संयोजक नारायण खत्रीले भने, ‘रकम अभाव छ, साउनसम्म २ सय ६४ जना सेयर सदस्य पु¥याउने हाम्रो लक्ष्य हो ।’

बस सञ्चालन गरेर नाफा कमाउने नभई सर्वसुलभ सेवा दिने उदेश्य रहेको संयोजक खत्रीले बताए । ६६ लाखमा २ वटा बस खरिद गरेको विद्यालयले टाढा रहेको सहिद लखन गाउँपालिकाको बुंकोट, गोरखा नगरपालिकाको फिनाम, सतिपीपल, बसपार्क, नारेश्वर, हरमटारी, ठिगुरेश्वाँरा, लक्ष्मीबजार लगायत आसपासका क्षेत्रसम्म बस सञ्चालन गर्ने बताएको छ ।

बस सञ्चालनका लागि आवश्यक खर्च भने विद्यार्थीबाटै उठाउने विद्यालयले तयारी गरेको छ । दुरी हेरेर सर्वसुलभ शुल्क लिन विद्यालयको तयारी छ ।