लास जली नसक्नै सम्पत्तिका लागि मारामार

झापाको कमल गाउँपालिका १ मा मलामीबीच कुटाकुट भएको छ। मंगलबार बिहान ८५ बर्षिय मृतक रघुनन्द गौतमका मलामी घाटमै कुटपिटमा उत्रेका हुन्।

गौतम परिवारको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुटको स्थिति सिर्जना भएको हो। मंगलबार बिहान मृत्यु भएका रघुनन्द गौतम काइँला छोरासँग दमकमा बस्दै आएका थिए।तर बिरामी भएपछि उनी एक वर्षअघिदेखि साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएको बताइएको छ।

आर्थिक अवस्था कमजोर भएका साइँला छोराले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाए। तर बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाएका कारण स्थिति असहज बनेको बताइन्छ।

कमल गाउँपालिका १ मा रहेको किस्नेघाटमा अन्तिम संस्कारको लागि लगेपछि मृतकका छोराहरुबीच नै हात हालाहाल भएपछि उक्त विवादले उग्ररुप लिएको थियो। कुटाकुटपछि दुवै समूह छलफलका लागि इलाका प्रहरी कार्यालय दमक आएका थिए। विवाद अझै साम्य भएको छैन ।