व्यवहारिक शिक्षा सिकाउन शैक्षिक सहजता तालिम

पोखरा महानगरले महिलालाई सशक्त बनाउन छुट्टै कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलालाई तालिम, शिक्षा, अनुदान, सचेतना जस्ता क्रियाकलाप समेटेर उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको हो । पोखरा १७ मा मंगलबारदेखि शैक्षिक सहजता कार्यक्रम सुरु भएको छ ।

पोखराका उपप्रमुख मञ्जुदेवी गुरुङले ८२ वर्षीया विष्णुमाया अधिकारीलाई शैक्षिक सामग्री हस्तान्त्ररण गरी कार्यक्रम सुरुआत गरिन् । उनले मानव जीवनलाई शिक्षाकै अर्काे नामको संज्ञा दिइन् । समृद्धिको यात्रामा पिछडिएका महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।

महानगर सबै बासिन्दालाई विकास र समृद्धिको यात्रामा लैजाने योजनामा रहेको उल्लेख गर्दै उनले कमजोरहरुलाई विशेष प्राथमिकता दिइएको सुनाइन् । उपप्रमुख गुरुङले भनिन्, ‘एकल महिला, गरिब र अपांगका लागि पनि विशेष कार्यक्रम छन् ।’

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महतगौडा, सीतापाइला र दोबिल्ला क्षेत्रमा बस्ती विकास भइरहेकाले विकासका कार्य व्यवस्थित रुपमा गर्न त्यहीका बासिन्दा सचेत हुनुपर्ने औंल्याए । उनले यस क्षेत्रको विकासका केही योजना आगामी वर्ष पूरा गर्ने प्रतिवद्धता गरे । अधिकारीले भने, ‘महतगौडाको यो डरलाग्दो गल्छी आगामी वर्ष भत्किन्छ ।’

महानगरका कार्यपालिका सदस्य राधिकादेवी शाही योगीले सिकाइ जीवनभर चल्ने भएकाले उमेरले यसलाई नछेक्ने बताइन् । उनले भनिन्, ‘कमजोर आर्थिक अवस्था, सानैमा बिहे, छोरीमाथि हुने विभेद जस्ता कारणले पढ्न नपाएका महिलालाई सक्षम बनाउन कार्यक्रम उपयोगी छ ।’

कार्यक्रममा वडा सदस्यहरु बैकुण्ठ भण्डारी, तारा परियार र शान्तिादेवी गुरुङ, सदशिवजी हरिहर मन्दिर अध्यक्ष दीपक आचार्य, समाजसेवीत्रय सुभास ढुंगाना, वेदनाथ भण्डारी र नरेन्द्र गुरुङ, जनकल्याण टोल विकास संस्थाका अध्यक्ष रघुनाथ भण्डारी, समृद्धि टोल विकास संस्थाका अध्यक्ष माधव पनेरु, ढुंगेसाँघु सीतापाइला आमा समूहका सीता काफ्ले भण्डारी, सचिव जीवन सुवेदी, शैक्षिक सहजता कार्यक्रमका सहजकर्ता अनिषा बराल लगायतले बोलेका थिए ।

विभिन्न कारणले औपचारिक शिक्षाको अवसर नपाएका महतगौडा, सीतापाइला, लामातरा र दोबिल्ला क्षेत्रका बासिन्दा कार्यक्रममा सहभागी हुने छन् । ३ महिने कार्यक्रमबाट नागरिकले सामान्य व्यवहारिक शैक्षिक ज्ञान पाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा पोखरा ६ लेकसाइडमा रहेको सुनौलो बचत तथा ऋण सहकारीका प्रबन्धक
गिरिधारी ढकाल र उनकी श्रीमती वीनिता ढुंगाना ढकालले आफ्नौं छैटौं विवाह वर्षगाँठमा कार्यक्रममा सहभागीलाई खाजाको प्रबन्ध गरेका थिए ।