गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल जोमसोम मुस्ताङलाई बहुवर्षिय भवन निर्माण योजना अन्तर्गत बजेट बिनियोजन गरेपछि जिल्लामा यसको गृहकार्य सुरु गरिएको छ ।
गत बैशाख ११ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले अस्पताल भवन संरचना निर्माण तथा व्यवस्थापनबारे प्रारम्भिक निर्णय गरेको जनाईएको छ ।
एक वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयको नवनिर्मित ३ तले पक्की भवनमा साविक अस्पतालले प्रवाह गर्ने ईमरजेन्सी तथा ओपिडी सेवासुबिधा नियमित राखेर साविक अस्पताल भवनमा नयाँ संरचना निर्माण गर्ने निर्णय गरेको हो ।स्वास्थ्य सेवालाई फराकिलो स्वास्थ्यमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेशले अस्पताललाई संरचना निर्माणमा जोड दिएको हो । २५ शैयाको सेवा पु¥याउन चालु बर्षको पहिलो बजेटले अस्पताल भवन निर्माणको काम थालनी गरिने समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
भवन निर्माणको काम थालनी गर्दा साविक सेवाहरु कसरी अघि बढाउने भन्ने बारेमा बिकल्प खोजिएका हो ।गण्डकी प्रदेश अन्तर्गत रहेका अस्पताल र स्वास्थ्य कार्यालयबीच समन्वय गरेर भवन निर्माणकार्य अघि बढाउनु पर्ने सरोकारवालाहरुले जोड दिएपनि स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख दुर्गादाश उलकले भने निर्णयमा हस्ताक्षर गर्न ईन्कार गरे ।उनले आफ्नो स्वईच्छ्याले कार्यालय भवन प्रयोग गर्र्न दिनेबारे निर्णय गर्न नसक्ने उल्लेख गरे ।यता सरोकारवालाहरुले स्वास्थ्य कार्यालय र अस्पताल नङ र मासु जस्तै बिषय एउटै भएकाले यसमा कुनै बाधा नभएको जनाए ।
अस्पताल समितिको बैठकमा घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,सहायक प्रमुख जिल्ला अधिकारी गौतम,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ,स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादाश उलक,राजनितिक दल,व्यवसायी,नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
गण्डकी प्रदेशले जिल्ला अस्पताल जोमसोलाई चालुवर्ष ३० लाख बजेट बिनियोजन गरेको जनाईएको छ ।




