प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मंगलबार मात्र लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको प्रदेश १ को राजधानी र नामको विषय टुँगो लगाउन बाटोसमेत खुलेको छ।

प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ को बृहत विराट क्षेत्र विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रमाणिकरण गरेका छन्।

नेपालको संविधानको धारा २०१ ९१० र प्रदेश १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १११ बमोजिम प्रदेश सभाको वैशाख १५ गते बसेकोे तेस्रो अधिवेशनको ३३ औं बैठकले यो विधेयक पारित गरेको थियो।

यस विधेयकमा १२ धारा छन्। मोरङ र सुनसरी जिल्लाका विभिन्न १८ वटा स्थानीय तहलाई समेटेर वृहत्त विराट विकास क्षेत्र बनाउने विधेयकमा उल्लेखित छ। विराट क्षेत्र निर्माणका लागि समिति गठन गरिने छ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको निर्देशन अनुसार प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्यलाई वैशाख १९ गतेभित्र प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्न गत आइतबार नै सूचना प्रकाशित गरिसकेको छ ।

प्रदेशको नाम कोसी, सगरमाथा, किराँत, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ। पछिल्लो चरणमा कोसी, किराँत र सगरमाथा चर्चामा छन्।

यस्तै स्थायी राजधानीका विषयमा पनि विभिन्न मतभेदा छन्। विशेष गरी स्थायी राजधानीका लागि विराटनगर, इटहरी, धरान, गोठगाउँ र धनकुटाले दाबी गर्दै आएका छन्।

प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक÷एक सांसद छन्।