जापानी राजाले गद्दीत्याग गर्दै

जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्दै छन् ।

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।

आकिहितोले राजगद्दी त्यागेको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । अर्थात् मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदै छ ।

यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका थिए ।

सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गरेका थिए । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ । प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशवासीको नाममा सम्बोधन गर्नेछन् ।