चाडै फेवा र बेगनासमा वाटर स्पोर्टसको मज्जा

कास्की स्थित फेवा र बेगनास तालमा वटर स्पोर्टस् सञ्चालन गर्नको लागी ७ वटा नीजि कम्पनीहरुले चासो ब्यक्त गरेका छन् ।

पोखरा महानगरपालिकाले दुईवटा ताललाई वाटर स्पोर्टस सञ्चालन गर्ने कार्ययोजना अघि सारे पछि उक्त सात कम्पनीले चासो ब्यक्त गरेका हुन् ।

महानगरपालिकाले फेवाताल र बेगनास तालमा वाटर स्पोर्टस सञ्चालन गर्न मनसाय पत्र मागेको छ । मनसाय पत्र अनुसार फेवातालमा ६ वटा कम्पनी र बेगनासमा ३ वटा कम्पनीले चासो दिएका छन् । फेवातालमा वाटर स्पोर्टस सञ्चालन गर्न वाटर ईको फ्रेण्डली साईडसिन प्रालि पोखरा, होटल ब्लु म्याग्नेट एण्ड मल्टि प्रपोज पोखरा, अतिथि रिसोर्ट एण्ड स्पा पोखरा, राजधानी रिक्रिएशन प्रा।लि ललितपुर , ए।एन वि इन्टरटेनमेन्ट प्रालि काठमाडौं र एभरेष्ट क्रियु प्रालि काठमाडौंले मनसाय पत्र बुझाएका छन ।

बेगनास तालमा भने बेगनास एडभेन्चर प्रालि पोखरा, होटल ब्लु म्याग्नेट एण्ड मल्टिप्रपोज पोखरा र ए.एन वि इन्टरटेनमेन्ट प्रा वल काठमाडौंको मनसाय पत्र परेको पोखरा महानगरपालिकाका इञ्जिनियर सोवित खड्काले बताएका छन् । उनका अनुसार प्रस्ताव अनुसार तालको केही निश्चित ठाँउमा सञ्चालन गर्ने गरी निजी साझेदारीमा दिईने छ । वाटर स्पोर्टस पर्यटन प्रवद्र्धनको लागि नयाँपन हुने विश्वास पोखरा महानगरपालिकाले गरेका छन् ।

फेवतालमा दुई दिन अघि मात्रै एशिया कप ट्रायथलन तथा साउथ एशियन ट्रायथलन च्याम्पियनसिप आयोजना गरियो । ट्रायथलन अन्तर्गतको ७५० मिटर स्वीमिङ फेवातालमै आयोजना गरिएको थियो । तालमा विशेष गरी मोटरबोट सञ्चालन, क्रुज९डुंगामै बसेर खान बस्ने सुविधा० सञ्चालन गर्ने लगायतका योजनाहरु छन् । मोटरबोट मार्फत तालमाथि स्काई क्लाईडिङ गरिने लगायतको योजनाहरु समेत कम्पनीले सञ्चालन गर्ने खाका कोरेका छन् । फेवातालमा रहेको मोटरबोट हाईस्पीडका छन् । सञ्चालनमा आउँदा त्यसको स्पीडले निकाल्ने छालले वरिपरीको डुंगा पल्टिने खतरा हुन्छ ।

‘तालमा वाटर पोलो सम्भव छ’ त्यो पनि स्पोर्टस टुरिज्मको लागि नयाँ आयाम हुन्छ ’ मनसाय पत्र पेश गरेको वाटर ईको फ्रेण्डली साईडसिन प्रालि पोखराका प्रबन्ध निर्देशक अशोक गुरुङले भने–‘सोलार जडित मोटरबोट सञ्चालन, १५÷२० जना अटाउने डुंगालाई क्रुज सञ्चालन गरी पर्यटकलाई घुमाउने लगायतका योजना बनाएका छौं ।’ फेवाताल मोटरबोट छन् । तर ती बोट डिजेल तथा पेट्रोलबाट सञ्चालित छ । जसले तालमा प्रदुषण बढाईरहेको छ । ध्वनी प्रदुषण बढाएको छ ।

मनसाय पत्र अनुसार तालमा ध्वनी प्रदुषण न्युनिकरण र प्रदुषणरहित क्रियाकलाप सञ्चालन गर्नुपर्ने छ । त्यसको लागि मनसाय पत्र बुझाएको कम्पनीले सोलारजडित मोटरबोट सञ्चालन गर्ने जनाएको छ । ‘निश्चित क्षेत्र दिए निश्चित समय तोकिदिएको अवस्थामा मोटरबोट सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने थियौं’ उनले भने–‘अध्ययन गर्दै छौं । आवश्यकता अनुसार वाटर स्पोर्टसको गतिविधि बढाउँछौं ।’ वाटर स्पोर्टसको लागि आवश्यक सामाग्री विदेशबाट आयात गर्नुपर्ने खाँचो छ । खर्चिलो हुने उनको भनाई थियो ।

लेखनाथको हनिमुन लेक(दिपाङ ताल)मा वाटर स्की सञ्चालन गर्न प्रस्ताव गरिएको थियो । तत्कालिन लेखनाथ नगरपालिकाले त्यसप्रति गम्भीरता देखाएन् । प्रस्ताव त्यसै हराएर गयो । दक्षिण एशियामै नभएको वाटर स्की खेल सञ्चालन गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने थियो । नगरपालिकाको दुरदृष्टि नहुदाँ योजनामै सीमित रह्यो । प्रस्ताव गर्ने कास्कीको ल्वाङमा क्यानोनिङ सञ्चालन गर्दै आएका राम गुरुङको च्याँखै मर्यो ।

उनले सन २०१३ मा दिपाङ तालमा वाटर स्की सञ्चालन गर्न आवश्यक प्रस्ताव पेश गरेका थिए । ‘वाटर स्की साउथ एशियामै छैन् र थिएन जतिबेला मैले प्रस्ताव गरेको थिँए’ गुरुङले भने–‘त्यतिबेला नगरपालिकाले चासै दिएन् । एक वर्ष कुरें । प्रतिक्रिया नआएपछि त्यसै छाडिदिए ।’ सन २०२० मा जापानमा आयोजना हुने ओलिम्पिक खेलमा वाटर स्कीलाई समेत समावेश गरिदैं छ ।

महानगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले वाटर स्पोर्टस सञ्चालन गर्न अहिले मनसाय पत्र मात्रै मागिएको सुनाए । ‘अब कम्पनीसँग बसेर वाटर स्पोर्टसका योजना सहित प्रस्ताव माग्छौं । उनको भनाई थियो । मनसाय पत्र मात्रै भएकोले अहिले नै ठ्याक्कै यस्तो प्रकृतिको वाटर स्पोर्टस सञ्चालन हुन्छ भन्ने यकिन नहुने भन्दै त्यसको लागि कति वर्षसम्म दिने भन्ने विषय समेत निक्र्यौल भईनसकेको बताए ।

www.kheladinews.com