म्याग्दीको मालिका गाउँपालिकाले बैङ्क मार्फत गाउँ बस्तीमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
गाउँपालिका, इलाका प्रहरी कार्यालय दरवाङ, गरिमा विकास र प्रभु बैङ्कको समन्वयमा वडा र बस्तीबाटै भत्ता वितरण सुरु गरिएको हो ।
छरिएको बिकट बस्तीका लाभग्राहीलाई गाउँपालिकाको केन्द्रमा रहेका बैङ्कको शाखामा भत्ता बुझन जानुपर्दा दुख, खर्च र सास्ति भएको थियो ।
लाभग्राहीहरुको सुबिधाका लागि चालू आर्थिक वर्षको दोस्रो चौमासिक देखि गाउँबाटै भत्ता वितरण सुरु गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । बैङ्कका कर्मचारीहरुलाई गाउँमै लगेर सुरक्षाकर्मी र जनप्रतिनिधिहरुको रोहवरमा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष रोकाले बताउनुभयो ।
भौगोलिक रुपमा विकट बस्तीका बासिन्दाहरु भत्ता बुझ्नका लागि बैङको शाखामा पुग्न पुरै दिन समय लाग्ने, यातायात भाडामा अतिरिक्त खर्च, दुख र झञ्जट ब्यहोर्नुपर्ने समस्या हटेको छ । सात वटा वडा रहेको मालिकाको २, ३ र ४ नम्बर वडामा प्रभु र १, ५, ६ र ७ नम्बर वडामा गरिमा विकास बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ ।
पहिलो चरणमा गरिमा विकास बैङ्कले जिम्मा लिएका चार वटा वडाका एक हजार ४०० जना जेष्ठ, दलित जेष्ठ, एकल महिलाहरुलाई बस्तीबाटै भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रबन्धक नारायण शर्माले बताउनुभयो । प्रभु बैङ्कको दरवाङ शाखाले पनि यसै महिनाभित्र वितरण गरिसक्ने जनाएको छ ।




