भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान भैरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारलाई मतदान गर्नेछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ ।
उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।






