जेठ छोराले हिन्दु र कान्छाले क्रिस्चियन धर्मअनुसार किरिया गरे

९० वर्षका देवीप्रसाद घिमिरेको ११ दिनअघि निधन भयो । युवराज घिमिरे र उनको परिवार अहिले शोकमा छन् । पुख्र्यौली घर ताप्लेजुङ भई हाल काठमाडौँमा छोरासँग बस्दै आएका देवीप्रसादका जेठा छोरा हिन्दू धर्मावलम्बी हुन् भने कान्छा छोरा युवराज घिमिरे क्रिस्चियन हुन् ।

निधनपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगियो र हिन्दू रीतिअनुसार विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । दिवङ्गत भएका देवीप्रसादले पनि १ वर्षअघि क्रिस्चियन धर्म अँगालेको कान्छा छोरा युवराजले दाबी गरे ।

दुवै दाजुभाइले केस मुण्डन गरेका छन्, सेतो कपडा लगाएका छन्, आफूले मात्र बनाएको १ छाक खाएका छन् र १३ दिने मृत्युसंस्कारलाई अँगालेका छन् । क्रिस्चियन धर्म अँगालेका कान्छा छोरा युवराजले १३ दिनसम्म शोक मनाए पनि बाइबल पढेर बसेका छन् भने झापामा उनका दाइले हिन्दू धर्मअनुसार १३ दिने काजक्रिया गरिहेका छन् ।

घिमिरे परिवारमा युवराजको परिवार मात्र क्रिस्चियन हुन् । परिवारका अरू हिन्दू छन् । क्रिस्चियन समुदायमा ५ दिनसम्म शोक मनाउने र प्रार्थना गर्ने प्रचलन छ ।