‘रुघाखोकी’बाटै १० को ज्यान गयो, ५ सयभन्दा बढी बिरामी

दुर्गम हुम्लाको ताजाकोटमा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। सोमबार बिहान थप एक महिलाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो।

हुम्ला जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार ताजाकोट गाउँपालिका वडा नम्बर ५ मदना गाउँकी ६० वर्षीया पवित्रा बोहराको सोमबार बिहान ३ बजेतिर मृत्यु भएको हो। यसअघि ताजाकोट गाउँपालिका वडा नम्बर १ काँडा गाउँका ७० वर्षीय लालछरा रिठाल, सोठी ठाउँका ६० वर्षीय सुरजित खड्का, वडा नम्बर १ कै जिमाना गाउँका ५५ वर्षीय वीरबल रिठाल, वडा नम्बर ३ चौतारी बाडाका ५५ वर्षीय लक्ष्य सुनार, सोठी ठाउँका ७५ वर्षीय बजिरे सुनार, ७६ वर्षीया अमकली मल्ल र १० महिनाका सञ्जीव थापाको मृत्यु भएको थियो।

यस्तै ताजाकोट गाउँपालिका वडा नम्बर २ कोली बाडाका ५० वर्षीय रंगे कोली, सोही ठाउँकी ४ वर्षीया सुनकेसा सुनारको मृत्यु भएको डीएसपी घर्तीमगरले जानकारी दिए।

रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिने उक्त रोगका कारण ताजाकोटका झन्डै ५ सय स्थानीय प्रभावित भएको हुम्ला प्रहरीले जानकारी दिएको छ। मौसमी रुघाखोकी जस्तो देखिए पनि रोगको पहिचान हुन सकेको छैन।

चैतको अन्तिम सातातिर फैलिएको उक्त रोगका कारण पछिल्लो तीन सातामै ९ जनाको मृत्यु भएपछि संघीय सरकारको समन्वयमा कर्णाली प्रदेश सरकारले आइतबार नेपाली सेनाको हेलिकोप्टरमा चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाएको छ।